२०८१ साल माघ १० गते बिहिबार

/ एक बोटमा एक लाख कमाई, स्वामीकार्तिकमा आँप फले पछि स्थानीय दङ्ग

एक बोटमा एक लाख कमाई, स्वामीकार्तिकमा आँप फले पछि स्थानीय दङ्ग

जीवन कैला, बाजुरा । 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा पछिल्लो समय आँप फल्न थालको छ । स्याउले परिचित बनेको स्वामीकार्तिकमा आँपको पनि सम्भावना राम्रै देखिएको छ । यस अघि स्याउ, कागती र सुन्तला राम्रो फल्ने गरे पनि पछिल्लो समय आँप फल्न थाले पछि किसान दङ्ग भएका छन । ब्यवसायिकरुपमा स्याउ खेति हुने गरेको गाउँपालिकामा आँपले पनि राम्रो फल दिन थालेको स्वामीकार्तिक खापर गाउँपालिका तीन भाँमका स्थानीय जमुना खत्रीले बताउनुभयो । 

परिक्षणका लागि रोपिएको एक बोट आँपबाट अहिले रामै्र आम्दानि पाईएको बताउनुभएको छ । घरको छेउमा लगाईएको एक बोट आँपबाट वर्षेनि एक लाख बढि कमाई हुने गरेको छ । उहाँले यहि एक बोटमा फलेको आँप वेचेर गत वर्ष पनि एक लाख बढी कमाई भएको र यो वर्ष पनि एक लाख कमाई भएको बताउनुभएको छ । केही खेर गएको, अचार बनाएको, खाएको र आफन्तलाई नासो दिएको वाहेक बचेको आँप बेचेर एक लाख कमाई भएको बताउनुभयो ।

एक बोट आँपमा वर्षेनि पाचँ सय केजी बढी फल्ने गरेको छ । प्रति केजीको दुई सयका दरले पाँच सय केजी आँपको एक लाख भएको खत्रीले बताउनुभयो । जिल्ला बाहिरका बजारमा विक्रि गर्न पाए अझ बढी आम्दानि हुने बताउदै स्थानीय बजारमा विक्रि गर्दा सोचे अनुसारको मुल्य पाउन नसकेको बताउनुभयो । 

धनगढी, नेपालगञ्ज अत्तरीयामा एक केजी आँपको मुल्य तीन सय पचास देखि चार सय सम्म पर्ने गरेको छ । तर बाजुरामा दुई सय रुपैंयाँमा एक केजी आँप विक्रि गर्नु परेको उहाँले बताउनुभयो । कुनै ब्यवसायका लागि नभई घर परीवारलाई खानका लागि रोपिएको आँपबाट मनग्य आम्दानि हुन थाले पछि आफुलाई आँप प्रतिको मोह बढ्दै गएको उहाँका श्रीमान धन खत्रीले बताउनुभयो । 

करीव ६ वर्ष पहिले रोपिएको आँपको बोटले फल दिन थालेको दुई वर्षमा दुई लाख बढी आम्दानि भएको उहाँले बताउनुभयो । भाँममा फल्छ, फल्दैन भन्ने परीक्षण नभई रोपिएको आँपले परिवारलाई सन्तुष्टी र समाजलाई सम्भावनाको बाटो पहिल्याएको बताउनुभयो । स्वामीकार्तिकमा आँप फल्ने बारे परीक्षण नभए पनि भाँममा फलेको आँपले सम्भावनाको संंकेत राम्रो देखाएको खत्रीले बताउनुभयो । 

स्याउ मात्रै नभएर कर्णालीको वगर क्षेत्र तिर आँप रामै्र फल्ने सम्भावना देखिएको भाँममा फलेको आँपले पुष्टि गरेको छ । अमिलो जातमा सुन्तला, कागती लगायत स्याउ ब्यवसाय हुने गाउँपालिकामा पछिल्लो समय स्थानीयमा दाँते ओखरको पनि मोह देखिन थालेको छ । स्याउले राताम्मे हुने किसानका बारीमा दाँते ओखरका बगैँचा सुन्दर देखिन थालेका छन । स्याउ पछि ओखरको परीक्षण गरेर ब्यवसाय थालिए पनि आँपको भने परीक्षण हुन सकिरहेको छैन । 

गाउँपालिका कृषि शाखा प्रमुख विनोद शाहीले गाउँपालिकामा यस अघि स्याउ र अमिलो जातको ब्यवसाय हुने गरे पनि पछिल्लो समय बगर क्षेत्रमा आँप लगाउन थालिएको बताउनुभयो । उहाँका अनुसार समुन्द्री सतहको सात सय मिटर देखि १५ सय मिटर सम्मको उचाईमा आँप फलाउन सकिन्छ । गर्मी मौसममा तराई क्षेत्रमा फल्ने आँप पछिल्लो समय मौसम परिवर्तनका कारण बाजुरामा पनि फल्न थालेको छ । लेकाली क्षेत्रमा स्याउ लगाउने गरीए पनि वगर क्षेत्रमा आँप, केरा र खरभुजा लगाईएको र लिचि लगाउने तयारी भएको शाहीले बताउनुभयो । 

उहाँले कुन ठाउँमा के फल्छ भन्ने परीक्षण गरेर गत साल देखि किसानलाई विरुवा वितरण गर्ने गरीएको बताउनुभयो । गाउँपालिका भित्रका प्राय प्रत्येक स्थानीयका स्याउ र ओखरका बगैचा भए पनि आँपको बगंैचा भने देखिएको छैन । घर नबिराई स्याउको बोट रहेका अधिकासं स्थानीयको स्याउ बगैचा रहेको र अव आँप लगायतका फलफूलको पनि बगैँचा हुने शाहीले बताउनुभयो ।

फलफूलको प्रवल सम्भावना बोकेको गाउँपालिका तरकारीको पनि उत्तिकै सम्भावना छ । तर चाहे जती लगानि हुन नसक्दा प्रतिफल न्यून छ । किसानको लगाव र सम्भावनालाई आधार मानेर तरकारी र फलफूलमा लगानि बढाउन सके गाउँपालिकालाई सम्वृद्ध बनाउन सकिने कतिपय बताउछन । 

गाउँपालिकामा अत्यधिक मात्रामा स्याउ तरकारी र फलफूल उत्पादन हुने गरे पनि बजारको समस्याले उत्पादित वस्तुलाई जिल्ला वाहिरका बजारमा पठाउने गरिएको छ । तर यस वर्षबाट सञ्चालनमा आएको कृषि हाट वजारले केही सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिका र ली–वर्डको साझेदारीमा सञ्चालित कृषि हाट वजारले बजारीकरणमा टेवा पुरयाउने भए पछि विक्रि वितरणमा सहज हुने किसानको अपेक्षा छ ।