२०८१ साल असोज २१ गते सोमबार

/ बाजुराकाे सामाजिक सुरक्षाभत्ताः स्वर्ग गएकाहरूकाे नाममा पनि लाखाैं निकासा ।

बाजुराकाे सामाजिक सुरक्षाभत्ताः स्वर्ग गएकाहरूकाे नाममा पनि लाखाैं निकासा ।

जीवन कैला बाजुरा

बाजुराका स्थानिय तहमा सामाजिक सुरक्षा भत्ताको समेत चरम दुरुपयोग हुने गरेको तथ्य बाहिरिएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार बाजुराका स्थानिय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा चरम दुरुपयोग गर्दै दोहोरो भुक्तानी र मृत्यु भै सकेका ब्यक्तिको लगत कट्टा नगरी रकम वितरण गरेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार बाजुराको जगन्नाथ गाउँपालिकामा २५ जनाको दोहोरो खाता खोली ९४ हजार २ सय २४ रुपैयाँ दोहोरो भुक्तानी गरिएको जनाएको छ ।


एकै ब्यक्तिको नाममा दुई खाता खोलि भुक्तानी लिदा पनि सम्वन्धीत स्थानिय तह र बैङ्ककले समेत ध्यान नदिएको पाइएको हो ।  बाजुराका अन्य स्थानिय तहले समेत मृत्यु भै सकेका ब्यक्तिको लगत कट्टा नगरी सामाजिक सुरक्षा भत्ताको रकम झिकेको पाइएको हो । तर मृत्यु भएका परिवारले उक्त रकम पाए नपाएको बारेमा भने केहि खुलाइएको छैन । जिल्लाको बुढीनन्दा नगरपालिकामा मृत्यु भइसकेका ब्यक्तिको नाममा ९१ हजार ९८० रुपैयाँ, स्वामीकार्तिक खापर गाउँपालिकामा १९ हजार ९८०, जगन्नाथ गाउँपालिकामा ४३ हजार ९८० र खप्तड छेडेदह गाउँपालिकामा १३ हजार ४४ रुपैयाँ मृत्यु भएका ब्यक्तिको नाममा निकासी भएको पाइएको हो ।


यी चार वटा स्थानिय तह मध्य वुढीनन्दा नगरपालिकाले भने मृत्यु भएका ब्यक्तिको नामामा गएको रकम असुल गरीएको जनाएको छ । यता नगरप्रमुख जनक कुमार वोहोराले सम्वन्धित वडा र कर्मचारीको कमजोर कारण पनि यस्तो भएको हुन सक्ने बताउनुभयो । उहाँले कुन वडामा कसको मृत्य भएको र कसको जन्म भयो भन्ने कुरा त सम्वन्धित वडाले पनि निगरानि राख्नु पर्ने बताउनुभयो । यस्तो हुन नदिन नजिकको वडा कार्यालय, कर्मचारी र सम्वन्धित ब्यक्ति सम्वेदनशिल हुनु पर्ने निरगरानि राख्नु पर्ने बताउनुभयो । मृत्य भएका ब्यक्तिको समयमा लगत अध्यावधिक नहुदा, ब्यक्तिगत घटना समयमा दर्ता प्रक्रियामा नआउदा स्थानिय तहमा यस्ता समस्या आउने गरेका पञ्जीकरण सहायक धर्मराज पाध्याले बताउनुभयो । उहाँले समयमा मृत्यु दर्ता गर्ने परीपार्टी नहुदा र वडा कार्यालयमा सचिव नहुदा पनि समस्या भएको बताउनुभयो । यस वारे सम्वन्धित वडा कार्यालयले पनि निगरानि राख्नु पर्ने बताउनुभयो ।


मृत्यु भएका ब्यक्तिको खातामा पंैसा जम्मा भएको भेटिए पछि सम्वन्धित लाभग्राहिको वंैक खाताबाट तत्काल असुल गरीएको समेत उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्तामा समेत लापरवाहि गरी लाभग्राहिको लगत अध्यावधिक नगरी मृत्यु भएका ब्यक्तिको नाममा समेत चार वटा स्थानिय तहको १ लाख ६८ हजार ९ सय ८४ रुपैँया मृत्यु भएकाको नाममा रकम गएको पाइएको छ । स्थानिय तहले सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रक्रियालाई प्रभावकारी ढंगले कार्यान्वयन नगरेको जनाउदै महालेखाले स्थानिय तहलाई लाभग्राहीको नाम दर्ता र नविकरण लगत कट्टा गरी तोकिएको मिति भित्रै परीचय पत्र अनिवार्य रुपमा नविकरण गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने जनाएको छ । महालेखाले प्रत्यक वर्ष लगत अध्यावधिक गरी लाभग्राहिको संख्या एकिन गर्नु पर्ने, भत्ता वितरण गर्दा वंैक मार्फत वितरण गर्नु पर्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने, नियमित रुपमा अनुगमन गर्नु पर्ने केन्द्रिकृत सुचना प्रणालीमा प्रविष्ट गरी अध्यावधिक गर्नूपर्ने जनाएको छ ।


जिल्लाका नौ वटा स्थानिय तह मध्ये वडिमालिका नगरपालिका वाहेक अन्य स्थानिय तहमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सन्तोषजनक नदेखिएको महालेखाले जनाएको छ । वुढीनन्दा नगरपालिकाले भने मृत्यु भएका ब्यक्तिको रकम असुल गरीसकेको छ भने जगन्नाथ गाउँपालिकाले फिर्ता गर्ने प्रतिवदता जनाएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ ले दिएको जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पाउने सम्वन्धित स्थानिय तहले गर्नु पर्ने जनाइए पनि सम्वन्धीत कर्मचारी र जनप्रतिनिधिले समेत ध्यान नदिएको देखिएको छ । स्थानिय तहले भने भुल बस यस्ता गतिविधि भएको जनाएका छन ।


बैङ्कहरुले पनि ख्याल नगर्दा दोहोरो खाता खोलिन गएको र उनीहरु सवैको नाममा भत्ताको रकम भुक्तानी भएको जनाएका छन । त्यस्तै मृत्यु भएका ब्यक्तिको लगत कट्टा नगरिएकाले यस्तो भै रहेको जनाएका छन । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्ति स्वय बैङ्कमा उपस्थिति भएर भक्तानी बुझ्नु पर्ने ब्यवस्था भए पनि दुई दुई चौमासिक रकम मृत्यु भएका ब्यक्तिका नाममा जानुले वडा सचिव र वडाअध्यक्षले समेत बदमासि गरेको देखिएको छ ।