बुढीनन्दा खबर
जिल्ला अस्पताल बाजुराबाट रोगको पहिचान भई रेफर गरिएका बिरामीको केएमसी अस्पताल काठमाण्डौंमा निशुल्क उपचार गरिने भएको छ । नेपाली काग्रेसका सांसद सुनिलकुमार शर्माको बिशेष पहलमा रेफर भएका बाजुरा सहित ९ जिल्लाका बिरामीको केएमसी अस्पतालमा निशुल्क उपचार हुने नेविसंघका केन्द्रीय सदस्य दिनेश शाहीले जानकारी दिनुभयो । जिल्ला अस्पातल बाजुरामा उपचार हुन नसकि अन्यत्र रेफर भएका बिरामीको केएमसी अस्पतालमा निशुल्क उपचार गरिने ब्यवस्था भएको उहाँले बताउनुभयो ।
यसका लागि अस्पताल प्रशासन संग प्रवन्ध मिलाईएको पनि उहाँले बताउनुभयो । बाजुराका विरामीको उपचारका लागि नेपाली कांग्रेसका नेता जनकराज गिरी, सभापति रामसिंह रावल, त्रिवेणी नगर प्रमुख कर्ण बहादुर थापा, नेविसंघका केन्द्रीय सदस्य दिनेश शाही, महिला नेतृ राधिका सिंहले समन्वय गरेर भाद्र २४ गते विरामीलाई केएमसी अस्पताल काठमाण्डौंमा पठाईएको थियो । बिरामीको अप्रेशन र भर्ना हुँदा अस्पातलको चार्ज निशुल्क हुने छ भने औषधी र अन्य सामानको खर्च व्यवस्थापन बिरामी आँफैले गर्नुपर्ने छ । दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निशुल्क उपचार सेवा सञ्चालन गरिएको सांसद शर्माले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत पैसाको अभावमा उपचार गर्न नपाएका बिरामीलाई लक्षित गरि निशुल्क उपचारको ब्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।
बाजुरासहित सुदूरपश्चिमका बझाङ, बैतडी र डोटीका बिरामीको समेत निशुल्क उपचार हुने सांसद शर्माले बताउनुभयो । बझाङका बिरामीको भदौ १८ गते, बाजुराका बिरामीको भदौ २४ गते र डोटीका बिरामीको असोज ४ गते हुने जनाइएको छ । यस्तै गुल्मी, ओखलढुंगा, दैलेख, रामेछाप र खोटाङका बिरामीको समेत केएमसीमा निशुल्क उपचार गर्ने प्रबन्ध मिलाएको सांसद शर्माले बताउनुभयो ।
यस अघि सांसद शर्माको पहलमा केएमसीले गत बैसाखमा स्वामीकर्तिक खापर र हिमाली गाउँपालिकाको संयुक्त रुपमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविरबाट रोग पहिचान भई अप्रेशन गर्नुपर्ने अवस्था भएका बिरामीको केएमसी अस्पताल काठमाण्डौंमा निशुल्क उपचार गरिएको थियो ।