२०८१ साल असार २९ गते शुक्रबार

/ स्थानीय तथा रैथाने बालीका परिकार बनाउने सम्बन्धी तालिम पिलुचौरमा सम्पन्न ।

स्थानीय तथा रैथाने बालीका परिकार बनाउने सम्बन्धी तालिम पिलुचौरमा सम्पन्न ।


सर्मिला रोकाया

बाजुराको जगन्नाथ गाउँपालिका वडा नं १ पिलुचौरमा स्थानीय तथा रैथाने बालीका परिकार बनाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि–खाद्य प्रणालीका लागि नविकरणीय ऊर्जा परियोजना (रिरास) को आयोजना तथा रोयल नर्वेजीयन राजदुतावास र यू.एन.डी.पी.को आर्थिक सहयोगमा दुई दिने तालिम सम्पन्न भएको हो । 

स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीलाई प्रवर्द्धन गर्ने उदेश्यले होटल व्यवसायी तथा दिवा खाजा तयार पार्ने भान्सेहरुका लागि तालिम सञ्चालन गरीएको कलस्टर संयोजक लोकेश थापाले जानकारी दिनुभएको छ । बाजुराका ४ पालिका र मुगुको खत्याड गाउँपालिकाका जम्मा ३० जना होटल व्यवसायी र विधालय दिवा खाजा अन्तर्गतका भान्सेहरुका लागि असार १३ र १४ गते रैथाने बालीका परिकार सम्बन्धी तालिम दिएको उहाँले बताउनुभयो । 

गत १३ गते बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहोराले उद्धघाटन गर्नुभएको तालिम शुक्रवार सम्पन्न भएको उहाँले बताउनुभयो । तालिममा बाबर, सेलरोटी, केक, अचार, माडा, भाटारोटी, गाजा, पुदिनाको चिया लगायतका रैथाने बालीका अन्य परिकार बनाउन सिकाइएको सहायक प्रशिक्षक शुवास ठकुरीले बताउनुभएको छ । उहाँले पकाएको खानेकुराले खास्सै असर नगर्ने भएकाले रैथाने बालीका विभिन्न परिकार बनाउन आफैले प्रयास गर्ने सकिने समेत बताउनुभयो । होटल व्यवसाय तथा दिवा खाजामा रैथाने बालीलाई जोड्नु पर्ने आवश्यकता औल्याउनुभएको छ । 

शुक्रवार सम्पन्न तालिममा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले रैथाने बालीका परिकार बनाउनु पर्व उत्पादनमा जोड दिनु पर्ने बताउनुभएको छ । कोदो, फापर, चिनो, कागुनो लगायतका बाली उत्पादन गर्न सकिएन भने परिकार पनि बनाउन नसकिने उहाँले बताउनुभयो । साविकको कर्णाली अञ्चललाई भिकारी मात्र भनेर चिनाउन छोड्नु पर्ने बताउनुभएको छ । उहाँले रैथाने बाली तथा कृषि क्षेत्रमा सम्भावना धेरै भएकाले सधै मागेर खाने प्रवृतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको हो । 

यो देशले देशलाई र यो बाजुराले बाजुरालाई र आफुले आफुलाई चिन्न अनि चिनाउन जरुरी रहेको प्रमुख प्रशिक्षक सुमन दाहालले बताउनुभयो । आफु बाजुरा पुगेको यो तेस्रो पटक भएको बताउँदै पहिलो पटक पुग्दा बाजुरा साच्चिँकै स्वर्गको टुक्रा भएको महशुस गरेको उहाँले बताउनुभयो । कृषि तथा रैथाने बालीमा अथाह सम्भावना देखेको यो स्वर्गको एक टुक्रालाई साच्चिँकै बाजुरा भनेर चिनाउन आवश्यकता उहाँले औल्याउनुभएको छ ।  

रिरास परियोजनाका क्लष्टर संयोजक लोकश थापाले तालिममा सहभागिलाई धन्यवाद दिँदै संस्थाले गरेको सहयोग तथा प्रशिक्षकले प्रदान गरेको ज्ञान सीपको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले तालिममा सिकेको रैथाने बालीका परिकारको मेनु तयार पारी विक्री वितरण गर्न जोड दिनुभएको छ । कालो कोदो भनेर अपहेलित कोदो बालीलाई उत्पादन गरी प्रवर्द्धनमा जोड दिन आग्रह गर्नुभएको छ । 

तालिममा सहभागि होटल व्यवसायी तथा विद्यालय दिवा खाजा बनाउने भान्सेहरुले आफूले सिकेको सिपलाई सदुपयोग गर्ने बताएका छन् । रैथाने बालीको महत्व चिन्न नसकेका आफूहरुलाई यो तालिमले रैथाने बालीको महत्व बुझाएको र अब हामी उत्पादन तथा प्रर्वद्धनमा जोड दिने सहभागिले बताएकाछन् ।  

शुक्रवार सम्पन्न कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, प्रशिक्षक सुमन दाहाल, शुवास ठकुरी, परियोजना क्लष्टर संयोजक लोकेश थापा, कृषि अधिकृत कविराज अवस्थी, स्वामीकार्तिक खापर गाउँपालिकाका कृषि शाखा प्रमुख बिनोद शाही लगायत होटल व्यवसायी र दिवा खाजा बनाउने भान्सेहरुको सहभागिता रहेको परियोजनाले जनाएको छ । उक्त कार्यक्रम सञ्चालन ली–बर्ड÷रिरास परियोजनाका बरिष्ठ प्राविधिक सहायक रामचन्द्र पाध्यायले गर्नुभएको थियो ।